प्रधानमन्त्री घोषणा – ‘कार्यशैली बदल्छु, अपरिहार्यबाहेक कुनै कार्यक्रममा जान्नँ’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार असफल त भएन, तर आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन ।’

बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उनले बताए । ‘कति बन्यो भन्ने होइन, कति बन्नसक्थ्यो भन्ने आत्मसमीक्षामा छु’ उनले भने, ‘यही चिन्ता र आत्म समीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु ।’ सरकारको कार्यशैली बदल्न यो प्रस्थान विन्दु हुने भन्दै उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्