लकडाउन खुकुलो बनाउँदै लैजाने जर्मन चान्सलर मर्केलको घोषणा

काठमाण्डौ – जर्मन चान्सलर एन्जेला मर्केलले लकडाउन खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छिन् । लकडाउन खुकुलो पारे पनि व्यक्तिगत दुरीसहितका नियम भने कम्तीमा आउँदो मे ३ सम्म अर्थात् वैशाख २१ सम्म कायम रहने मर्केलले बताइन् ।

उनले सार्वजनिक यातायात तथा पसल पुग्ने व्यक्तिलाई अनिवार्य मास्क (मुखावरण) लगाउन सुझाव दिएको बीबीसीले जनाएको छ । यस्तै आउँदो २२ गतेदेखि स्कुलहरु पनि खोल्ने तयारी गरिएको उनले बताइन् ।

धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रम भने आउँदो अगस्ट ३१ अर्थात् भदौ १५ सम्म बन्द रहने मर्केलको भनाइ छ ।

यस्तै बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा साङ्गीतिक कार्यक्रम स्थलहरु पनि बन्द नै हुनेछन् ।

जर्मन सरकारका अनुसार अहिलेसम्म एक लाख २७ हजार पाँच सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार दुई सय ५४ जनाको ज्यान गएको छ । तर वल्डोमिटरले भने जर्मनमा एक लाख ३४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको र ७२ हजार ६ सय उपचारपछि निको भएका जनाएको छ । यस्तै तीन हजार आठ सयभन्दा धेरैको ज्यान गएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्