नेपाली संसदीय प्रतिनिधि मण्डल टोली चीनमा

काठमाडौ, १० पुस। नेपाली संसदीय प्रतिनिधि मण्डलले च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानसँग भेट गरेको छ ।

नेपाली प्रतिनिधि मण्डलका नेता नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले जनकंग्रेस उपप्रमुख पाउच्वानसँग नानजिङ सिटीमा रहेको जनकंग्रेस भवनमा भेट गरेको हो । भेटमा द्विपक्षीय हित, आपसी सम्बन्धी विस्तार लगायतका विषयमा कुराकानी भएको छ ।

नेता पाण्डेले नेपाल र चीनबीच सदियौंदेखिको सम्बन्ध रहेको बताउँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपाली प्रधानमन्त्रीको चीन भ्रमणले जनस्तरमा सम्बन्ध विस्तार भएको बताए ।

 

उनले छोटो समयमा नै चीनले द्रुत विकासको मार्ग पहिल्याएको बताउँदै नेपाललका तीनवटै सरकारले विकास र समृद्धिका लागि अधिकतम काम गर्दै आएको जानकारी दिए ।

नेपालले छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै नेता पाण्डेले चीनले नेपालका विभिन्न परियोजनामा गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानले नेपाली संसदीय प्रतिनिधि मण्डललाई आफ्नो प्रान्तमा स्वागत गर्न पाउँदा खुसी भएको बताइन् ।

 

उनले प्राचीनकालदेखि दुई मुलुकबीच आत्मीय सम्बन्ध रहेको बताउँदै कतिपय मुद्दाहरुमा दुवै देशका राष्ट्र प्रमुखहरुले साझा धारणा राख्दै आएको उल्लेख गरिन् ।

 

पाउच्वानले नेपाल विश्वकै खुसी इन्डेक्समा अग्रस्थानमा रहेको स्मरण गर्दै प्राकृतिकरुपमा नेपालको सौन्दर्यबाट चिनियाँ पर्यटकहरु खुसी भएर फर्किने गरेको बताइन् ।

संघीय संसदको २० सदस्यीय प्रतिनिधि मण्डल १० दिने चीन भ्रमणका लागि गत पुस २ गते बेइजिङ प्रस्थान गरेको थियो । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा रहेको २० सदस्यीय भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन् । भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्कासहित तीन कर्मचारीसमेत सामेल छन् ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमी (आईबीओ) को कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । भ्रमण टोली नानजिङपछि मंगलबार नै कुइयाङ सहरका लागि प्रस्थान गर्दैछ ।

भ्रमण टोलीमा नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले)बाट दामोदर बैरागी, मानबीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी रहेका छन् ।

भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन् ।

संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यक्रम छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्