पार्टीभित्र एकता भयो भने बहुमत ल्याउन कांग्रेसलाई कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औंल्याउनु भएको छ। शनिबार बागमति प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता एवम् मन्त्री डा. महतले भने, ‘पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ। निस्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ।’

बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उनले बताए। आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्यो भने, बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारे। ‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ। यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ,’ मन्त्री डा. महतले भने, ‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ।’

संसदमा आफूहरूको तीन गुण बढी संख्या भए पनि विविध परिस्थितिमा गठबन्धन सरकार बनेको बताए। ‘हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो। यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काहिँ पुग्दैनौं। संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ। यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन,’ उनले भने।

उनले पार्टीभित्र संघर्ष गर्दै, नेविसंघको राजनीतिमार्फत् आफू यहाँसम्म आइपुगेको स्मरण गरे। ‘मेरो जरा कहाँ छ, कसको कारणले म यहाँ छु भन्ने कुरा मैले भुलेको छैन। इमान्दार, पारदर्शी र समर्पित भएर देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरिरहेको छु र गर्छु,’ उनले भने।

धेरै नकरात्मक परिस्थिति भएको अवस्थामा आफू अर्थमन्त्री बनेको र बजेट बनाउने समयमा आफूसँग दुई महिना पनि नरहेको उनले बताए। ‘बिना प्राथमिकताका ठेक्कामुखी आयोजनाहरु अगाडि बढाइएको थियो। समस्याको पहाड थियो। कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्