भूकम्पपीडितका लागि राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ घाइते

काठमाडौँ – रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टरदुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टरगएराति १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी आठबिसकोट नगरपालिका – १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाही, सोही वडाको भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट – ८ सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव नगर अस्पताल आठबिसकोटमा राखिएको छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेहरूमा आठबिसकोट – ८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट – १० का ३८ वर्षीय रमेश कार्की, आठबिसकोट – ८ का १४ वर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगबिर सार्की, ३६ वर्षीय जयबहादुर सार्की, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन छन् । प्रहरीका अनुसार दुर्घटना हुँदा उनीहरू उछिट्टिएर बाहिर पुगेका हुन् ।  उनीहरुको पनि नगर अस्पतालमा उपचार भइ रहेको  छ ।

घाइतेमध्ये तीन जनालाई बढी चोट लागेको तथा एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । आठबिसकोट – १० को तिरीकोटको भित्री सडक खण्ड अन्तर्गत नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहत सामग्री ट्याक्टरमा लगिँदै थियो। घुम्तिमा मोड्ने क्रममा ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तलको मोडमा खसेको थियो । दुर्घटना लगत्तै फरार भएका चालक आठबिसकोट – ९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई बिहीबार बिहान १:५० बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्