अध्यक्ष थापाको सक्रियतामा बनेपाको पुण्यमाता खोलामा पक्की पुल निर्माण सुरु, स्थानीय हर्षित

बनेपा नगरपालिकाको पुण्यमाता खोलामा लामो समयदेखिको पहलपछि पक्की पुल निर्माणले तिब्रता पाएको छ । वि.स. २०७४ सालदेखि पुल बनाउने योजना भएपनि वि.स. २०८० सालमा मात्र यस पुलको निर्माण कार्य शुरु भएको हो ।

 २०७५ सालमा माटो परीक्षण गरी २०७७ सालमा पुलको डिजाइन सम्पन्न भएको थियो । तर २०७८ सालमा दुइपटकसम्म टेन्डर गर्दा पनि टेन्डर नपरेपछि पुल निर्माणमा ढिलाइ भएको बनेपा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष शिव कुमार थापाले बताए ।

 २०७९ सालमा फेरी पनि टेन्डर गर्दा तोकिएको रकम भन्दा करिब ४० लाख बढिमा मात्र टेन्डर परेपछि प्रकृया अगाडि बढ्न सकेन । त्यसपछि २०८० सालमा चौथोपटक गरेको टेन्डरबाट   आर. एस. निर्माण सेवाले ५ करोड ५७ लाख ५५ हजार ८ सय २० रुपैँयामा निर्माणको जिम्मा लियो । निरन्तर पहल र सक्रियतापछि   २०८० असोज २५ गते भएको सम्झौता अनुसार निर्माण सेवाले २०८१ साल चैत २४ गते सम्पन्न गरिसक्नुपर्ने वडाअध्यक्ष थापाले जानकारी दिए।

 

 । पुल निर्माण हुने ठाउँमा दलदले कमजोर कालो माटो भएकोले  यसको संरचना पाइल फाउण्डेसन अनुसार हुने  आर. एस. निर्माण सेवाका प्रोजेक्ट म्यानेजर सुरज कुमार गौतमले जानकारी दिए ।

 उनले भने – “दलदले माटोमा स्ट्रक्चर बनाउँदा  भासिदै जाने संभावना हुन्छ । पुल बनाउने ठाउँको  माटो परीक्षण गर्दा  २३ मिटर तलसम्म कमजोर माटो भेटियो त्यसैले  त्यति नै गहिरो पाइल फाउण्डेसन बनाउँछौ । त्यसको लागि सुरुमा बोरिङ हुन्छ,२३ मिटर खनिएपछि गोलो बनाएर रिङ खसालिन्छ । त्यति नै गहिराइमा एउटा  पाइप हुन्छ । सोही पाइपमा ढलान हाल्दै जाँदा पाइप भने माथि माथि  ल्याउँदै गरिन्छ ।  २३ मिटरसम्म ढलान भरेपछि त्यो भन्दा माथी भएको माटोलाइ फालेर सफा गरी त्यसपछि पाइलको क्यापको ढलान हुन्छ । पुलमा एकातिर १६ वटा र अर्कोतिर १६ वटा पाइल राखिनेछ । सिग्नल इस्पामको पुल भएकोले दुइतिर खम्बा हुन्छ । बीचमा केही हुँदैन ।यसो गर्दा पुल बलियो पनि हुन्छ ”।

नवनिर्मित पुलको लम्बाइ २० मिटर र चौडाइ ८ दशमलब ४ मिटर रहेको छ । दुइ लेनमा सवारी गुड्ने र साइड साइडमा मानिस हिड्ने फराकिलो पुलमा ५० टनको क्षमता भएको पुर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर धुब्र खुलाल थापाले बताए। निर्माण भइरहेको नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमनलाई तिब्रता दिइने इन्जिनियर थापाको भनाइ छ । उनले भने – “ पुल गुणस्तरीय नहुनुको मुख्य कारण निर्माण सकेपछि अन्तिम चरणमा मात्र गरिने अनुगमन रहेकोले सुरुदेखि नै अनुगमनलाइ प्रभावकारी बनाएर बलियो पुल बनाइने छ । कार्यालयको ल्याब टेस्ट गर्ने  समूह सहितको टिमले समय समयमा अनुगमन गर्छौ र काम गर्ने क्रममा समस्या आएमा सम्बन्धित कार्यालयलाइ चिठि पठाई काममा सहजता गराउँछौ” ।

पुलको शिलान्यास गर्दै सांसद वास्कोटाले भने राम्रो र समयमै काम गरे स्यावास नत्र खबरदारी

नवनिर्मित पुलको  शिलान्यास पूर्वमन्त्री तथा काभ्रे क्षेत्र नम्बर १ का सांसद गोकुल प्रसाद वास्कोटाले गरेका हुन । मंसिर १० गते बनेपा वडा नम्बर ११ ले आयोजना गरेको कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य,उप प्रमुख विमला सापकोटा दाहाल,वडाअध्यक्ष तथा सदस्यहरु,पुर्वाधार विकास कार्यालय धुलिखेलका प्रतिनिधि,ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानीय लगायतको बाक्लो उपस्थितिमा सांसद वास्कोटाले धार्मिक परम्पराअनुसार शिलान्यास गरेका हुन । सोही क्रममा उनले पुल गुणस्तर र समयमै बनाइसक्न  ठेकेदार कम्पनीलाइ आग्रह पनि गरे ।  विकास निर्माणमा आफ्नो  निरन्तर निरगानी मात्र नभई  इच्छाशक्तिसहितको  पहलकदमी हुने गरेको  भन्दै नवनिर्मित पुल निर्माणमा आफुले पनि सक्रियता देखाएको बताए । यसै ठाउँमा पर्ने बनेपा, धुलिखेल र पनौती संयुक्त पुण्यमाता करिडोर निर्माण अलपत्र परेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय जनप्रतिनिधिलाई चासोको साथ काम अगाडि बढाउन पनि आग्रह गरे ।

पुल निर्माणले गति लिँदा स्थानीय खुशी

पुण्यमाता खोलामा पक्किपुल निर्माण सुरु भएपछि बर्षौ देखि पक्की पुल नहुँदा समस्या झेली रहेका यस क्षेत्रका स्थानीयबासीमा खुशी छाएको छ । पुल बन्न बजेट सुनिश्चित भएपनि पटक पटक टेन्डर गर्दा पनि टेन्डर नपरेपछि स्थानीय समेत चिन्तित थिए । तर हालै टेन्डर स्वीकृत भइ ठेकेदार कम्पनीले निर्माण कार्य सुरु गरेपछि खुशी थपिएको हो ।

नवनिर्मित पुल सञ्चालनमा आएपछि बनेपा नगरपालिकाको वडा नम्बर ११,१२ र पनौती नगरपालिका वडा नम्बर ४ मा सहजै यात्रा गर्न सकिने स्थानीय जयराम गिरिले बताए।

उनले भने – “ २०७४ सालदेखि बनाउने भनिएको पुल धेरैपछि  निर्माणको काम सुरु भएको छ । यो पुल सञ्चालमा आएपछि बजारबाट सिनागाल जान फेरोबाटो जानुपर्दैन । त्यसैले धेरै सहज हुन्छ ।हामी सबै स्थानीयले पुलको निर्माण कार्य छिटो छरितो र गुणस्तरीय बन्छ भन्ने आशा राखेका छौ ”।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्