नेपालको आर्थिक वृद्धिदर बढीमा २ दशमलव ८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डौ – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक भएको रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको छ । विश्व बैंकले ६ महिनाअघि नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

तर अहिले कोरोना भाइरसको कारण आर्थिक गतिविधि ठप्प भएको, पर्यटन क्षेत्र पूर्णरुपमा अस्तव्यस्त भएको, नेपालको उत्पादन, खर्च र प्रतिव्यक्ति आयमा ठूलो गिरावट आउने भएकाले बढीमा २ दशमलव ८ प्रतिशतको मात्रै वृद्धिदर हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको ‘साउथ एसिया इकोनोमिक फोकस’ रिपोर्ट अनुसार यो वर्ष आर्थिक वृद्धिदर एक दशमलव ५ देखि दुई दशमलव ८ प्रतिशतका बीचमा रहने र सन् २०२१ मा १ दशमलव ४ देखि दुई दशमलव ९ प्रतिशतको बीचमा रहनेछ ।

सन् २०२२ देखि भने यो अवस्थामा सुधार आउने विश्व बैंकको अनुमान छ । एसियाली विकास बैंक (एडीबी) ले भने ४ दशमलव ३ देखि ५ दशमलव ३ प्रतिशतको बीचमा आर्थिक वृद्धिदर रहने रिपोर्ट सार्वजनिक गरेको थियो ।

यस्तै कोरोना भाइरसविरुद्ध कदम चाल्दा सरकारको खर्च त्यतै केन्द्रित हुने, स्वास्थ्य सेवाको बढ्दो बजेट, पालिकाले गर्ने खर्च, उच्च सरकारी तलबलगायतका कारण बजेट घाटा ७ प्रतिशतभन्दा माथि पुग्ने पनि विश्व बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्