अबको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, गरे पार्टी एक रहन्न: गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन्। बिहीबार प्रेस युनियन काठमाडौंले बत्तीसपुतलीमा आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अबको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका हुन्।

‘अबको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, गर्यो भने पार्टी एक रहन्न,’ उनले भने। बागमती प्रदेशका केही कांग्रेस सांसदहरूले माओवादीलाई मुख्यमन्त्री फेर्न भनेर आफूलाई भेट्न आएको पनि उनले बताए। ‘बागमती प्रदेशका केही का‌ंग्रेस सांसद मलाई भेट्न आए। माओवादीलाई मुख्यमन्त्री मान्न सकिन्न सरकार फेरौं भन्नुभएको छ। म यो काम गर्दिनँ, सभापति र शेखर कोइरालालाई भेट्न भनेको छु,’ थापाले भने।

कोशी प्रदेशमा भएको घटनाक्रमबारे उनले सभापति शेरबहादुर देउवा आफैं जिम्मेवार हुनुपर्ने बताए। अँध्यारो कोठामा बैठक गरी निर्णय गरेकाले अब फोहोर पनि आफैंले उठाउनुपर्ने भनेर हात जोडेर देउवासँग भनेको पनि उनले बताएका छन्। ‘सभापति देउवालाई हात जोडेर भनेको छु, आफू अँध्यारो कोठामा बैठक गरेर निर्णय गर्ने गर्नुहुन्छ। अब फोहोर पनि आफैं उठाउनुस्,’ उनले भने। यस्तै, फागुन १ गतेलाई कांग्रेसले जनयुद्ध दिवसको रूपमा मान्न नसक्ने पनि उनको भनाइ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्