तीनकुने सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ

३१ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो । यद्यपि, प्रहरीले पक्राउ पर्नेको नाम र घटनाको कारण सार्वजनिक गरेको छैन । तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव भेटिएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७५ वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई थिए ।

उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले यसअघि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको थियो । प्रहरी स्रोतका अनुसार, राई राति मिलभित्रै बसेका थिए । प्रहरी अधिकृतहरुका अनुसार, उनी राति करिब साढे १२ बजे आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए । पछि उनी नै शंकाको घेरामा परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्