स्रोत नखुलेको साढे २० लाख रूपैयाँसहित युवक पक्राउ

काठमाडौँ – प्रहरीले स्रोत नखुलेको साढे २० लाख रूपैयाँसहित एक जनालाई जनकपुरधामबाट पक्राउ गरेको छ।

भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साहलाई शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

भारतबाट नेपाली रूपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाइछिपाइ ओसारपसार गरी ल्याइरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार राजेशले बोकेको झोला भित्रबाट नेपाली रूपैयाँ एक हजार दरको नोट १ हजार ८५० थान र पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रूपैयाँ बरामद गरिएको छ।

बरामद गरिएको रकमसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्