स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाऊः देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरेका छन् ।

कोरोना भाइरस संक्रमणको सम्भावित विरामीको स्वास्थ्य परीक्षण गर्न र संक्रमण पुष्टि भइसकेका विरामीको उपचार गर्न अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा देखिएको विवादबारे देउवाले सरकारको ध्यानाकर्षण गराएका हुन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले भने, ‘जेजति कुरा अगाडि बढेका छन्, सरकारले किन्न खोजेको छ । त्यसमा पारदर्शीता हुन आवश्यक छ ।’

स्वास्थ्य सामाग्री खरिदका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता विवादित भएको थियो । विवाद भएपछि सरकारले ओम्नी समूहसँग सम्झौता रद्द गरी खरिदको जिम्मा सेनालाई दिएको छ ।

कांग्रेस सभापति देउवाले लकडाउन कति दिन आवश्यक छ भन्ने विषयमा छलफल थाल्नुपर्नेमा समेत जोड दिएका छन् ।

पूर्व प्रधानमन्त्री देउवाले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उचित व्यवस्थापन गर्न र कोरोना संक्रमणको परीक्षणलाई तीव्रता दिन सरकारलाई आग्रह गरे । सामाजिक दुरी कायम गर्न र मास्क प्रयोग गर्न जनतालाई अपील गरेका छन् ।
अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्