जनैपूर्णिमाको आकर्षक गन्तव्य पाँचपोखरी (भिडियो)

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा अवस्थित पाँचपोखरी काठमाडौँबाट नजिकको गन्तव्य हो ।  यसको आफ्नो सांस्कृतिक र धार्मिक मान्यता पनि रहेको छ । पाँच पोखरी प्राकृतिक छटाहरू भरिपूर्ण र मनमाेहक पैदल गन्तव्य हो ।

राजधानी काठमाडौँबाट करिब दुई दिनको यात्रा पछि यहाँ पुग्न सकिन्छ । सार्वजनिक यातायातबाट जाने हो भने काठमाडौँको जोरपाटीबाट पाँच पोखरीको लागि प्रत्येक दिन बिहान बस छुट्ने गर्दछ । सो बसले दिउँसो  छिन्ती बजार पुर्याउछ,  जुन बस यात्राको अन्तिम गन्तव्य हो ।

छिन्तीमा खाना खाएर सुरु हुन्छ पैदल यात्रा । बाटो केही अप्ठ्यारो भएता पनि हरियाली, खोला, झरना र ग्रामीण जनजीवन हेर्दै यात्रा गर्दा बाटो कटेको भने पत्तै हुँदैन । छिम्तीबाटको पैदल यात्रापछि उकालो हुँदै टुप्पी डाँडा टप खर्केमा भने बास बस्नुपर्ने हुन्छ । टपखर्क नोरसिन्गपाटी लौरिबिनाको यात्रा पछि भने पाँच पोखरी पुग्न सकिन्छ ।

एकै ठाँउमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिन भरी फुलेका विभिन्न रङ्गका फूलहरूले सबैको मन भने अवश्य नै लोभ्याउने गर्दछ । पाँचपोखरीमा हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। पूर्णिमाको दिन र रातभरि धामी–झाँक्रीको झाँकी हेर्न सकिन्छ । तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा स्थानीय भेसभुसा र भाषामा झाँक्री नाच हेर्न भने पाइन्छ ।

पाँच पोखरी, इन्द्रावती नदिको उद्गमस्थल पनि हो । यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ । पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकाङ्क्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्