रविन्द्र जडेजाको छक्का र चौका प्रहारको मद्दतले चेन्नइ बन्यो आइपीएलको विजेता

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । चेन्नईले सोमबार राति खेलिएको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

आईपीएलको फाइनल आइतबार नै हुनुपर्ने थियो । तर, वर्षाका कारण खेल प्रभावित भएपछि सोमबार फाइनल खेलाइएको हो । सोमबारको खेल पनि वर्षाबाट प्रभावित भएपछि हारजितको निर्णय ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा गरिएको थियो ।

कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि चुमेको हो । यसअघि चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८ र सन् २०२१ म आईपीएलको उपाधि जितेको थियो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो । चेन्नई जवाफी ब्याटिङमा ओर्लिएपछि पहिलो ओभरमै वर्षा सुरु भएको थियो । पहिलो ओभरको तेस्रो बलपछि नै वर्षाका कारण खेल रोकिएको थियो । पहिलो तीन बलमा चेन्नईले केवल चार रन बनाएको थियो । त्यसको केही समयपछि वर्षा रोकिए पनि मैदान सुकाउनु पर्ने भएकाले खेल सुरु हुन निकै समय लाग्यो ।

निकै समय खेर गएकाले खेल १५ ओभरमा झारिएको थियो । त्यसपछि चेन्नईले ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा जितका लागि १५ ओभरमा एक सय ७१ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य निर्धारण गरिएको थियो । त्यसपछि चेन्नईसँग आक्रामक ब्याटिङ गर्नुको विकल्प रहेन । चेन्नईको जितमा ओपनर डेभन कनवेले ४७ रनको योगदान गरे । उनले केवल २५ बलको सामना गरी दुई छक्का र चार चौका पनि प्रहार गरेका थिए ।

कनवे र रुतुराज गायकवाडले ओपनिङ विकेटका लागि ७४ रनको साझेदारी गरे । गायकवाडले १६ बलमा एक छक्का र तीन चौकाको मद्दतले २६ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान शिवम दुबेले पनि अविजित ३२ रनको योगदान गरे । उनले २१ बलको सामना गरी दुई छक्का प्रहार गरे । अजिनक्या रहानेले केवल १३ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २७ रन बनाए । अम्बाटी रायडुले १९ रन जोडे । उनले आठ बलको सामना गरी दुई छक्का र एक चौका हिर्काएका थिए । रविन्द्र जडेजाले केवल ६ बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले अविजित १५ रन जोडे ।

गुजरातका बलर मोहित शर्माले तीन र नुर अहमदले दुई विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको गुजरातका लागि साई सुदर्शनले ९६ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४७ बलको सामना गरी ६ छक्का र आठ चौका प्रहार गरेका थिए । ओपनर ऋद्धिमान शाहले ५४ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान शाहले ३९ बलको सामना गरी एक छक्का र पाँच चौका प्रहार गरे । अर्का ओपनर शुभमन गिलले २० बलमा सात चौकाको मद्दतले ३९ रन जोडे ।

कप्तान हार्दिक पाण्डेयाले अविजित २१ रन बनाएका थिए । चेन्नईका बलर माथिसा पाथिरनाले दुई विकेट लिए । उक्त खेलमा डेवन कनवे म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि सिरिको पुरस्कार भने शुभमन गिलले पाए । चेन्नईले अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने थियो । अन्तिम ओभरको सुरुको चार बलमा केवल तीन रनमात्र बनेको थियो । त्यसपछि अन्तिम दुई बलमा रविन्द्र जडेजाले क्रमशः छक्का र चौका प्रहार गर्दै चेन्नईलाई जित दिलाएका थिए । गुजरात आईपीएलको साविक विजेता टोली हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्