आईपीएल: कोलकत्ता विजयी, चेन्नइ ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

जितले चेन्नाइले प्लेअफ पुग्ने पहिलो टिम बन्ने थियो भने हारले कोलकाता बाहिरिने थियो । तर कोलकाताले चेन्नाइलाई हराएपछि प्लेअफको समीकरण थाहा पाउन अझै कुर्नुपर्ने भएको छ । कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ ।

कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतक बनाएपछि चेन्नाइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो । ३३ रनमा तीन विकेट गुमाएको अवस्थामा नितिश र रिंकुले ९९ रनको साझदारी गरे । नितिश राणाले ४४ बल खेल्द ६ चौका र एक छक्का मदतमा अविजित ५७ रन बनाए । रिंकुले ४३ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ५४ रन बनाए । चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी अविजित ४८ रन बनाए । डेभोन कनवेले ३० र रविन्द्र जडेजाले २० रन जोडे । कोलकाताका सुनिल नारिनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए । वरुण चक्रवर्तीले पनि दुई तथा वैभव आरोरा र शार्दुल ठाकुरले समान एक/एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्