इतिहासमा आजः भारतले घरेलु मैदानमा पहिलोपटक विश्वकप उपाधी जित्यो

सन् २०११ मा आजकै दिन भारतले घरेलु भूमिमा पहिलोपटक विश्वकप उपाधि जित्यो । समग्रमा भारतले जितेको यो दोस्रो एकदिवसीय विश्वकप उपाधि हो । भारतले सन् १९८३ मा कपिलदेवको नेतृत्वमा बेलायतको लर्डस् क्रिकेट मैदानमा वेस्टइन्डिजलाई हराएर पहिलो विश्वकप जितेको थियो । त्यस्तै, सन् २००७ मा पाकिस्तानलाई ५ रनले हराएर दक्षिण अफ्रिकाको जोहानेसवर्गमा पहिलो टी–२० विश्वकप जितेको थियो ।

यस्तो थियो २०११ फाइनल

मुम्बईको वाङखडे रंगशालामा महेन्द्रसिंह धोनीको नेतृत्वमा उत्रिएको भारतीय टोलीले ४३ हजार दर्शकसामु श्रीलंकालाई फाइनलमा ६ विकेटले हराएको थियो । सुरुवातमा ब्याटिङ गरेको श्रीलंकाले खेल जित्न २ सय ७४ रनको चुनौती दिएको थियो । श्रीलंकाबाट महेला जयवद्र्धनेले अविजित १ सय ३ रन बनाएका थिए । भारतले जवाफमा ४८ ओभर २ बलमा ४ विकेट गुमाउँदै २ सय ७७ रन बनायो । यसक्रममा गौतम गाम्भीरले १ सय २२ बलमा ९७ र कप्तान धोनीले ७९ बलमै अविजित ९१ रन बनाएका थिए । ८ चौका र २ छक्का प्रहार गरेका धोनी खेलको म्यान अफ दि म्याच समेत बने । भारतका महान् ब्याट्सम्यान सचिन तेन्दुलकरले जितेको यो एकमात्रै एकदिवसीय विश्वकप हो ।

रातोपाटीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्