अर्थतन्त्रको पछिल्लो अवस्था : बाह्य क्षेत्र बलियो, आन्तरिकमा पनि सुधारको संकेत

काठमाडौँ – कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्र बलियो हुँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत गरेको छ ।

विप्रेषण (रेमिट्यान्स) र भ्रमण आय वृद्धिसँगै शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को चैतमा मात्र १ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । विदेशमा रहेका नेपालीले एक महीनामा पठाएको यो हालसम्मकै बढी रकम हो । यसअघि फागुनमा १ खर्ब ४ अर्ब ४४ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड र पुसमा १ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

चालू आवको चैतसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा विप्रेषण शून्य दशमलव २ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण १३ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष डलर विप्रेषण १ दशमलव ८ प्रतिशतले घटेको थियो ।

विप्रेषण बढ्नुमा वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि र औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन गर्ने सरकारको नीतिलाई कारण मानिएको छ । औपचारिक रूपमा प्राप्त हुने विप्रेषणलाई बैंकमा राख्दा साधारण निक्षेपको भन्दा १ प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउने नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको साधारण शेयरमा आरक्षणको व्यवस्था गरिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्