सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौँ – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रलाई कक्षा ६–१२ सम्मका लागि एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मा दिइएको थियो। बुधबारसम्ममा एक करोड ३३ लाख ९५ हजार सात सय थान पाठ्यपुस्तक वितरण भइसकेको छ।

केन्द्रको विराटनगर कार्यालयबाट १६ लाख ५४ हजार चार सय, जनकपुर कार्यालयबाट १५ लाख ८० हजार तथा भरतपुर कार्यालयबाट १४ लाख १५ हजार थान पुस्तक वितरण भएको छ। त्यस्तै बुटवल कार्यालयबाट १४ लाख २५ हजार, पोखरा कार्यालयबाट ११ लाख ७४ हजार पाँच सय, नेपालगञ्ज कार्यालयबाट १५ लाख ४४ हजार, सुर्खेत कार्यालयबाट आठ लाख १६ हजार चार सय, धनगढी कार्यालयबाट १८ लाख ९० हजार तथा भक्तपुरको सानोमिठीस्थित केन्द्रीय कार्यालयबाट १८ लाख ९६ हजार चार सय थान पाठ्यपुस्तक वितरण भएको छ।

बाँकी केही पाठ्यपुस्तक केन्द्रमै जगेडा राखिएको छ भने केही वितरणकै क्रममा छ। केन्द्रको क्षेत्रीय कार्यालयबाट वितरण भइरहेका पुस्तक सम्बन्धित जिल्लाका स्थानीय विक्रेतामार्फत विद्यालयमा पुर्याउने काम भइरहेको छ।

यस वर्ष केन्द्र समयमै पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न सक्षम भएका कारण झन्डै एक दशकपछि सामुदायिक विद्यालयका विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका छन्। सरकारले वैशाख ३ गतेदेखि नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान पनि सुरु गरेको थियो। अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ।

केन्द्रका प्रबन्ध सञ्चालक झाले समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा समयमै कागज खरिद, कर्मचारीको सही परिचालन तथा केन्द्र परिसरमा रहेका सबै छपाइ मेसिनको प्रयोग गर्नु मुख्य उपलब्धि भएको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्