भारतमा कोरोना भाइरस फैलाउने एक धार्मिक सभामा १९ जना नेपाली रहेको खुलासा

काठमाडौं – भारतमा भएको एक धार्मिक सभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ । कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको उक्त धार्मिक सभामा नेपाल सहित अफगानिस्तान, मलेसिया, म्यानमार, किर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलायत मुलुकका मानिसहरुको सहभागिता रहेको छ ।

मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दिनको मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिव ८ हजार सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिक सभा भएको थियो । तर सभा भएको स्थान नजिकै पर्ने दक्षिण दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ ।

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

यस्तै तेलंगना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ । उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।

यसअघि मलेसिया र दक्षिण कोरियामा पनि धार्मिक स्थलमा गरिएको भेलाबाट कोरोना भाइरस मुलुकभर फैलिएको थियो । अहिलेसम्म भारतमा पनि कोभिड–१९ संक्रमितको संख्या १ हजार २०० नाघेको छ भने मृतकको संख्या ३२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्