सत्ता गठबन्धनको बैठक बस्दै, साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । दलहरुले आकर्षक मन्त्रालयमा आ आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकतालाई सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले सरकारका कार्यक्रमहरू पनि परिमार्जन गरेका हुन् । अध्ययनका लागि वितरण गरिएको परिमार्जित मस्यौदाबारे आज छलफल हुने नेपाली कांग्रेस नेता रमेश लेखकको भनाइ छ ।

साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्