राष्ट्रियसभा बैठक : छुवाछूत र विभेद अन्त्य गर्न माग

File Photo

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा उहाँहरुले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । सांसद अनिता देवकोटाले छोरीहरु समाजमा असुरक्षित रहेको, उनीहरुको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान जाओस् भन्नुभयो ।

सांसद कुमार दसौदीले आफूलाई राष्ट्रिय सभासदस्यमा निर्वाचित गराएकामा लुम्बिनी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवाद दिनुभयो ।

सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेथितीलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्यतालिका ल्याउन सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले कास्कीको फेवाताल वरपर भइरहेको मानव अतिक्रमण र डोजरको प्रयोग तत्काल रोक्न माग गर्नुभयो ।

सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू गर्न, सुर्तीजन्य पदार्थको बिक्री वितरणमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद नन्द चपाईले मुलुकभित्र नागरिकता र सुकुम्बासीको समस्या विकराल रहेको समस्या समाधानका लागि आग्रह गर्नुभयो ।
सांसद प्रकाश पन्थले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेलले र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएकामा धन्यवाद दिनुभयो ।
सांसद विमला राई पौड्यालले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक तथा अधिकारविपरीत प्रहरीले गतिविधि गरेको जनाउँदै किन त्यसो भएको हो गृह मन्त्रालयले उचित जवाफ दिन माग गर्नुभयो ।

सांसद सिंहबहादुर विश्वकर्माले सिरहाको एक स्थानीय तहका प्रमुखले दलित समुदायमाथि छुवाछूत र विभेद गरेको भन्ने घटनाप्रति दुःख व्यक्त गर्दै कानुनअनुसार कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्