राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको हो ।आयोगले बुधबार देखि चैत ५ गतेसम्म जारी रहने गरी आचारसंहिता जारी गरेको हो । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृ संगठनलाई लागू हुने छ ।

त्यस्तै, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई पनि आचारसंहिता लागु हुनेछ । यही फागुन २५ गते राष्ट्रपति पदको र चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ । संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि संघीय संसदमा हाल कायम तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।

राष्ट्रपतिको लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ मैदानमा छन् । आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्