कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने, यि नेताहरु छन् दाबेदार !

काठमाडौँ – नेपाली कांग्रेसले पुस ३ गतेपछि मात्रै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरू गर्ने भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाण पत्र दिने भएको छ। समानुपातिक सांसदले निर्वाचित भएको प्रमाण पत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढाइने कांग्रेसले जनाएको छ।

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ। कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै गरिने जानकारी दिए। संसदीय दलको नेता चयन सहमतिमा गर्ने कि चुनावबाट गर्ने टुंगिएको छैन।

कांग्रेसमा २०७४ सालको चुनावपछि पनि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो। यसपालि पनि धेरै सांसदले संसदीय दलको नेता हुने चाहना राखेकोले चुनाव हुन सक्ने देखिएको छ। सभापति शेरबहादुर देउवा पुन: संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन्। देउवा फेरि प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन्। नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेता आफूलाई बनाएर प्रधानमन्त्रीसमेत बनाउनुपर्ने पक्षमा छन्। उनले केही दिनअघि प्रधानमन्त्री देउवालाई भेटेर यसबारे कुराकानी पनि गरेका थिए।

कांग्रेस महामन्त्री गगन थापा पनि संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन्। थापाले काठमाडौं ४ मा चुनाव लड्दादेखि नै आफू संसदीय दलको नेता उठ्ने र जितेमा प्रधानमन्त्री हुने बताएका थिए। मोरङबाट चुनाव जितेर आएका नेता शेखर कोइराला पनि संसदीय दलको नेता उठ्न सक्ने उनीनिकट सांसदहरू दाबी गर्छन्। तर कोइरालाले यसबारे अहिलेसम्म यसबारे धारणा सार्वजनिक गरिसकेका छैनन्। कांग्रेस विधानअनुसार संसदीय दलको नेता हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ। ५१ प्रतिशत मत नल्याए पुन: चुनाव गर्ने व्यवस्था छ। कांग्रेसमा गत वर्ष भएको १४ औं महाधिवेशनलाई आधार मान्ने हो भने सभापति देउवानिकट धेरै जना यसपालि सांसद जितेर आएका छन्।

तर जनताले परिवर्तन चाहेको भन्दै कांग्रेसमा संसदीय दलको नेतामा युवालाई ल्याउनुपर्छ भन्ने पनि छन्। महामन्त्री शर्माले अर्का महामन्त्री थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने घोषणा गरिसकेका छन्। निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतपरिणाम प्रतिवेदन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाइसकेको छ। पुस २ मा आयोगले सातै प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ। अब राष्ट्रपतिले केही दिनमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछिन्। यसबीचमा दलहरूले स‌ंसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ। सातै प्रदेश संसदीय दलका लागि पनि कांग्रेसमा निर्वाचन हुन सक्ने सम्भावना छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्