कोरोनाको उपचार र परीक्षणमा चाहिने मेडिकल सामग्री चिनबाट ल्याइदै

काठमाडौ – नेपाललाई कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने आवश्यक सामग्रीहरू चीनले दिने भएको छ ।

उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू चीनबाट ल्याउन नेपाल सरकार तयार भइरहेको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले के–के सामग्री, कसरी ल्याउने भन्नेबारे दुई देशका अधिकारीहरूबी छलफल भइरहेको बताए ।

’हामी कुरा गरिरहेका छौं । कसरी ल्याउने भन्ने टुंगो लाग्न बाँकी छ,’ मन्त्री ज्ञवालीले भने,’ एक–दुई दिनमै ती सामग्री ल्याउने गरी तयारी भइरहेको छ ।’

यसअघि चीनले नेपाललाई कोरोनाविरूद्ध लड्न के(के सामग्री चाहिन्छ भनेर सोधेको थियो ।

’नेपालमा चाहिने सामग्रीको लिस्ट चिकित्सकसँग सल्लाह गरेर पठाएका छौं,’ ज्ञवालीले भने ।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि नेपालमा मेडिकल सामग्रीहरू ल्याउन तयारी भइरहेको बताएकी छन् ।

सोमबार साँझ ट्वीट गर्दै यान्छीले भनेकी छन् हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं !

यसअघि चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाकै धनी व्यक्ति ज्याक माले पनि नेपाललगायत दक्षिण एसियाली मुलुकलाई मेडिकल सामग्री सहयोग गर्ने बताएका थिए ।

यसैबीच कोरोनाको उपचारका लागि भारतले पनि नेपालमा र्‍यापिड रेन्सपोन्स टिम पठाउने वचन दिएको छ ।

’उहाँहरूले परेको बेला हामी त्यस्तो टोली पठाउन तयार छौं भन्नुभएको छ,’ परराष्ट्र मन्त्री ज्ञवालीले भने,’तर अहिलेको अवस्थामा हामीसँग एउटामात्र बिरामी छन् र ती हामी आफैं उपचार गर्नसक्छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्