पर्वतका तीन किशोरी बागलुङको एक होटेलमा पुगेर बलात्कृत, तीन युवा पक्राउ

पर्वत – बागलुङ कालिका मन्दिर घुम्न गएका कुश्मा नगरपालिका–३ दुर्लुङ्गका तीन किशोरी बलात्कृत भएका छन् । बलात्कार आरोपमा तीन जना युवा पक्राउ परेका छन् ।

पर्वतको कुश्माका तीन किशोरी शनिबार राति बागलुङको एक होटलमा बसेका थिए । ती किशोरीहरूलाई सोही होटलमै बसेका तीन युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेहरुमा धादिङ घर भएर पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा–८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए ।

पर्वतको कुश्मा– ३ दुर्लुङका एक १६ वर्षीया र दुई १५/१५ वर्षीया तीन किशोरी शनिबार घरमा समेत खबर नगरी निस्किएका थिए । अबेरसम्म पनि घर नफर्केपछि परिवारले खोजीका लागि बागलुङ प्रहरीमा खबर गरेका थिए । परिवारको सूचना पछि खोजी गर्ने क्रममा उनीहरु होटलमा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा खबर पुगिसकेपछि प्रहरीले बालिकाहरुलाई जिम्मामा लिई सोधपुछ अगाडि बढाएपछि सोही होटेलमा बसेका तीन युवाहरूले जबर्जस्तीकरणी गरेको खुलेको हो । जबर्जस्ती करणीपछि फरार उनीहरूलाई बागलुङकै विभिन्न ठाउँबाट पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रशाद चौधरीले जानकारी दिए । अहिले घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्