सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली –  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ ।

सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र मध्ये सबै जिल्लाको मतगणना सकिएर परिणाम समेत आइसकेको छ । केन्द्रमा भने अहिलेको सत्ता गठबन्धन अनुसार भएमा सुदूरपश्चिम प्रदेश सरकार बनाउन गठबन्धनलाई सहज हुने देखिएकाे छ ।

सुदूरपश्चिममा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले बढी सिट जितेको छ । जस अनुसार कांग्रेसले प्रत्यक्षतर्फ १२ सिट, नेकपा माओवादी केन्द्रले ८ सिट, नेकपा एमाले ३ सिट, नागरिक उन्मुक्ति पार्टीले ५ सिट, नेकपा एकीकृत समाजवादी ३ सिट र स्वतन्त्र एक सिटमा जित हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म मुख्यमन्त्री बन्ने माओवादीका नेता तथा सुदूरपश्चिम संयोजक खगराज भट्टको चर्चा बढी छ ।

चुनावी सभाहरुमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको प्रदेश सभा (क) बाट खगराज भट्टलाई जिताएर पठाएमा मुख्यमन्त्री बनाउने आश्वासन पहिले नै दिइसकेका कारण उहाँको सम्भावना बढी छ । यता कैलालीका माओवादी केन्द्रका रमेश धामी सिंहले भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री गठबन्धन दलकाबीचको सहमति अनुसार गठन हुने बताएका छन् ।

कांग्रेसबाट सुदूरपश्चिमको मुख्यमन्त्रीका रुपमा हेरिरहेका प्रकाश देउवाले भने समानुपातिकतर्फ अन्तिम परिणाम आइनसकेको हुँदा मुख्यमन्त्री को बन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए । भागबण्डाकाे बारेमा देशभर प्याकेजमै टुंगो लाग्ने भएकाले अहिले प्रदेश सरकार कसको नेतृत्वमा बन्छ भन्ने बारेमा छलफल हुन बाँकी रहेको उनले बताए । पार्टी र गठबन्धनबीच सहमति भए आफू मुख्यमन्त्री बन्न तयार रहेको प्रकाश देउवाको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म गठबन्धनबाट प्रदेश सभामा २१ जना सांसद प्रत्यक्षबाट जितेर आएका छन् । यो प्रदेशमा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक गरी ५३ सांसद हुन्छन् । जसमा प्रदेश सरकार बनाउन २७ जना सांसद चाहिन्छन् । अहिलेको सत्ता गठबन्धनबाट २१ जना प्रत्यक्षबाट जितेर आइसकेको अवस्थामा समानुपातिकबाट चुनिदा सहज रूपमा सरकार बन्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्