काँग्रेसबाट आरजु र विमलेन्द्र लगायत यी शीर्ष नेताहरु बसे समानुपातिकमा !

काठमाडौँ – नेपाली कांग्रेसले चार दिन छलफल गरेर समानुपातिकतर्फ उम्मेदवार तय गर्दै निर्वाचन आयोगमा सूची बुझाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहित अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा समानुपातिकमा बस्न मानेनन् । कांग्रेसका १३ पदाधिकारीमा २ जना मात्रै समानुपातिकमा बसेका छन् । सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिकतर्फ बसेको कांग्रेस स्रोतले जानकारी दिएको छ । मन्सुर बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए भने परियार कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि पनि समानुपातिकतर्फ नाम समावेश गरिएको छ । निधि २०७४ मा धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोसँग पराजित भएका थिए। यसपालि निधिलाई धनुषा कांग्रेसले समानुपातिकतर्फ नै सिफारिस गरेको थियो।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई चुनावी क्षेत्र छाड्न पर्ने हुन सक्ने बताइरहेका थिए। नेता गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकतर्फ बन्दसूचीमा समावेश रहेको ती नेता बताउँछन् । केन्द्रीय सदस्य आरजु राणा देउवा पनि समानुपातिकतर्फ बसेकी छन्। आरजु कैलाली क्षेत्र नम्बर ५, बाँके क्षेत्र नम्बर ३, बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ र डडेल्धुराबाट समानुपातिकतर्फ सिफारिस भएकी थिइन्। २०७४ मा आरजु कैलालीबाट पराजित भएकी थिइन्।

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फ आज उम्मेदवारको सूची आयोगमा पेश गरेको हो।सूची पेश गर्न महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय डिना, बद्री पाण्डेलगायत नेता आयोगमा पुगेका थिए। कांग्रेसले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम आयोगमा बुझाएको छ। आयोगमा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूची पेश गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृत कार्यालय नै सञ्चालनमा ल्याएको छ।

कांग्रेसले पाँचदलीय गठबन्धन गरी चुनावमा जाने निर्णय गरेको थियो। प्रत्यक्षतर्फ कुन दलले कति सिट पाउने निश्चित भइसकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्