भदौ ३१ गते बसेको मन्त्रिपरिषदका निर्णयहरू के-के हुन् ? हेर्नुहोस् विस्तारमा !

काठमाडौँ – सरकारले विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न नागरिक उड्डयन प्राधिकरणलाई दिएको स्वीकृति फिर्ता लिएको छ।

भदौ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय आईतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वि.सं. २०७७-७-२७ गतेको मन्त्रिपरिषद्ले विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको बताए।

यस्तै मन्त्री कार्कीले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ। यस्तै मन्त्रिपरिषदले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ।

मन्त्री कार्कीका अनुसार सरकारले संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्यष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ। यस्तै राष्ट्रिय भूमि आयोगका सदस्यहरुमा सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र सोमबहादुर नेपालीलाई कास्की जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको छ। त्यसैगरी सरकारले कोहलपुर–सुर्खेत–दैलेख, १३२ केबी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ।

प्रवक्ता कार्कीका अनुसार सरकारले वि.सं.२०७९ कार्तिक ८ र ९ मा जेनेभामा आयोजना हुने कमिशन अन साइन्स टेक्नोलोजी फर डेभलपमेण्ट इन्टरसेशनल प्लान मिटिङमा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवलाई भाग लिन स्वीकृत दिने निर्णय गरेको छ।

यी हुन् मन्त्री परिषद बैठकले गरेका

१. नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् | २०७९ साल असोज १ गते शनिबार राती १२:०० बजेदेखि अन्त्य हुन सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

२. सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने।

३. विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिने।

४. विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

५. कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिव श्री कालीप्रसाद पराजुलीलाई तोक्ने।

६. २०७९ कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुन गईरहेको इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिने।

७. संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्येष्टिमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

१०. राष्ट्रिय भूमि आयोग सदस्यहरूमा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका २ का श्री सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र पोखरा महानगरपालिका-९ का सोमबहादुर नेपालीलाई कास्की जिल्लाको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गर्ने ।

११. कोहलपुर- सुर्खेत दैलेख १३२ के.भी. प्रसारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने।

१२. नेपाल सरकार, मन्त्रिपरिषद्‌को २०७७/०७/२७ को निर्णय बमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्