चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदै

काठमाडौं – चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।

भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट हुने बताइएको छ ।

गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसको केही समयपछि चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् ।

आगामी १६ अक्टोबरमा सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला अहिले चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको भ्रमणलाई चीनले विश्व शक्ति राष्ट्र बन्ने होडका बीच रणनीतिक भू–अवस्थितिमा रहेको छिमेकी मुलुकका विषयमा धारणा बुझ्ने अवसरका रूपमा समेत प्रयोग गर्न खोजिएको देखिन्छ ।

पछिल्लो समयमा नेपालमा शक्ति राष्ट्रहरूको चासोका साथ बाक्लो आवतजावत भइरहेको छ । विशेष गरी अमेरिका र चीनबाट एकपछि अर्को भ्रमण नेपालमा भइरहेका छन् । यद्यपि, राजनीतिक, कूटनीतिक र सैन्य क्षेत्रसँग सम्बन्धित भ्रमणहरू बाक्लै हुने गरे पनि संसदीय प्रतिनिधित्व गरेर कमै आवतजावत हुन्थ्यो । तर अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा यहाँको संसदको भूमिका समेत बढ्न थालेसँगै संसदीय प्रतिनिधित्व गर्ने खालका भ्रमणहरू समेत बढ्न थालेका छन् ।

विशेष गरी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर सदनमा चर्को बहस र विवाद भएपछि भूराजनीतिक विषयमा सदन पनि प्रत्यक्ष जोडिन थालेको छ । यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा सदनको भूमिका बढेको र शक्ति राष्ट्रहरूले पनि यहाँको सदनमा चासो बढाइरहेको विश्लेषण भइरहेको छ । यसै क्रममा चीनको नीति निर्माण गर्ने महत्वपूर्ण थलो राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चान्सु पनि सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आउने तय भएको हो ।

विश्व राजनीतिमा प्रतिस्पर्धा तीव्र बनिरहँदा नेपालमा एकपछि अर्को गरी शक्ति राष्ट्रहरूबाट बाक्लो आवतजावत हुनुलाई विशेष चासोका साथ हेर्ने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्