कोरोनाको जोखिमसँग जुध्ने साझा रणनीति बनाउन आज सार्क राष्ट्रबीचको भिडियो सम्वाद

विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमसँग जुध्न दक्षिण एशियाली देशहरुले साझा रणनीति बनाउने विषयमा आइतबार छलफल गर्ने भएका छन् । सार्क क्षेत्रका देशका सरकार प्रमुखहरुले भिडियो सम्वादमार्फत छलफल गर्न लागेका हुन् ।

भिडियो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी सवा ५ बजेपछि सम्वोधन गर्नुहुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली शुक्रबार मात्रै दोस्रो पटक मिगौला प्रत्यारोपण गरेर १२ दिनपछि त्रिभुवन शिक्षण अस्पतालबाट बालुवाटार फर्कनुभएको हो । उहाँले शनिबारसमेत बालुवाटारमा राजनीतिक भेटवार्ता गर्नुभएको थियो ।

भिडियो सम्मेलनमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामकाबारेमा राय प्रस्तुत गर्ने तयारी छ ।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्नका लागि सार्कले संयुक्त पहल गर्नुुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावलाई प्रधानमन्त्री ओलीले शुक्रबार नै स्वागत गर्दै सहमति जनाउनुभएको थियो ।

सार्क राष्ट्रमा नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । सबै राष्ट्रले मोदीको प्रस्तावमा समर्थन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्