चुनाव जितेपछि मात्रै मर्ने पौडेलको इच्छा

पोखरा – तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरुको दाबी नहुने जिकिर गरेका छन् ।

यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको पौडेलले बताएका छन् । ‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु,’ नेता पौडेलले भने । आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलको भनाइ छ ।

२०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पौडेल पराजित भएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका थिए । नेता पौडेलले २७ हजार ६ सय ९० मत ल्याउँदा ६ हजार ८ सय २ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका श्रेष्ठ यो चुनावमा पनि उठ्न चाहान्छन् । उनकै लागि माधवकुमार नेपालले तनहुँ क्षेत्र नम्बर १ मागेको चर्चासमेत थियो । तर, पौडेलले गठबन्धनको सूत्रधार नै आफू भएको र आफू उम्मेदवार हुन्छु भन्दा अरुको दाबी नपुग्ने बताएका छन् ।

‘उहाँले दाबी गरेपछि मेरो केही लाग्दैन भनेर मलाई अर्को व्यवस्था गरिदिनुस् केही भनेर माधवजी र मसँग उहाँको उम्मेदवार (कृष्णकुमार श्रेष्ठ)ले भनिसक्नुभएको छ,’ पौडेलले भने ।

तनहुँका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुलाई राखेर आफूले सल्लाह गरिसकेको पौडेलको भनाइ थियो । नेता पौडेलले सबै पार्टीसँग सल्लाह गरेर गठबन्धनबाट जित्ने गरी चुनाव लड्ने बताए ।

‘शीर्ष नेताहरु र जिल्लाका नेताहरुसँग छलफल भइरहेको पौडेलले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्