प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

काठमाडौं – रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरा भन्ने ठाउँमा लु १ झ ६६० नम्बरको गाडी दुर्घटना हुँदा घाइते भएका रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ का पुनको टाउकोमा चोट लागेको थियो । उनको बाँके कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, गाडी चालक प्रहरी हवलदार कुमार सिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा र प्रहरी जवान इन्द्र घर्ती मगर घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार डीएसपी डाँगी र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवार तकसेराको इलाका प्रहरी कार्यालयको निरीक्षणका लागि जाँदै थिए । त्यसै क्रममा डीएसपी डाँगी चढेको गाडी दुर्घटनामा परेको हो ।

स्थानीय तहका जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय तकसेराको टोली र स्थानीय वासिन्दाको सहयोगमा उद्दार गरी घाइतेलाई पुथा उत्तरगगा गाउँपालिका–११ डिखिउको हेलिप्याडमा ल्याइएको थियो ।

त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्