रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा

पाल्पा – नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारसँगै सेवा सुरु गरेको हो ।

कार्यालयले नेटवर्क विस्तार गरेपछि ग्राहकका घर–घरमा उच्च गतिको इन्टरनेट वितरण सुरु गरेको जनाएको छ । हाल यो सेवा रामपुर बेझाडबजार चोक, श्रीनगरहोटल क्षेत्र, बाङ्गेपसल जाने बाटो, मटेरी जाने बाटो, विजपुरलगायतका स्थानमा उपलब्ध गराइएको दूरसञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्यालले जानकारी दिए ।

हाल कम्पनीले विभिन्न प्याकेज मार्फत एफटिटिएच सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । ग्राहकहरूले इन्टरनेट सेवा, टेलिभिजन सेवा र भ्वाइस सेवा तथा यी मध्ये कुनै आवश्यक सेवा पनि लिन सक्नेछन् । कम्पनीले निकै सस्तो दरमा ८ एमबीपीएसदेखि १०० एमबीपीएस क्षमतासम्मको इन्टटरनेट प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिए ।

वार्षिक प्याकेज लिने ग्राहकहरूलाई एक सय मिटर सम्म अप्टिकल फाइबर केबुल र सिपिए–राउटर निःशुल्क उपलब्ध गराइएको उनले जानकारी दिए । ग्राहकले एकमहिने, तीनमहिने र एकवर्षे एफटीटीएच प्याकेज लिन सक्नेछन् । आइपीमा आधारित एचडी टेलिभिजन हेर्न सकिने भएकाले सेवाग्राही दैनिक बढिरहेको रेग्मीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्