‘थारो भैसी पालेझैँ ३१ वर्षदेखि देउवालाई भोट दिएर जनताले बालुवामा पानी हालेका हुन् ?’

File Photo

काठमाडौँ – एमाले सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिनिधिसभाको बैठकमा आक्रोश पोखेका छन् । बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद धामीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने बिषयमा देउवाले कुनै भूमिका नखेलेको भन्दै उनी आक्रोशित भएका हुन् ।

गेटामा २७ वटा अत्याधुनिक भौतिक पूर्वाधार सहितका भवन निर्माण भइसकेको तरपनि सरकारले त्यहाँका जनताका आवाज नसुनेको उनले बताए । गेटा सुदूर पश्चिममा परेका कारण पनि त्यहाँ विश्वविद्यालय नबनाइएको उनको आरोप थियो । उनले सुदूर पश्चिममा रहेको पर्यटकीय क्षेत्रलाई सरकारले उपेक्षा गरेको र त्यहाँ पर्यटक जान नसकुन् भनेर दोब्बर हवाई भाडा लिने गरेको आरोप लगाए । उनले राणा शासनदेखि अहिलेको सरकार समेतले सुदूर पश्चिमलाई विभेद गरेको बताए ।

२०४८ सालको निर्वाचनको प्रचारको क्रममा बैतडीको पाटनमा रहेको कृष्ण बहुमुखी क्याम्पसका विद्यार्थीहरुको जुलुसले लोकेन्द्रबहादुर चन्दको चुनावीसभालाई बिथोल्दा झण्डैले ज्यान जोगाएर कृष्ण मन्दिरभित्र बसेका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लक्ष्मणसिंह भण्डारीलाई तेरो जिद्धीले क्याम्पस खोलेका कारण आज यो स्थिति भयो भनेको कुराको स्मरण गर्दै अहिले शेरबहादुर देउवा पनि सोही बाटोमा लागेको उनको आरोप थियो । उनले भने– ‘पूर्व प्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको भनाईलाई चरितार्थ हुनेगरी हालका प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गर्ने, आनाकानी गर्ने, कुनै मतलब नराख्ने हो भने देखादेखी तपाईले सुदूर पश्चिमप्रति गद्धारी गरेको र त्यहाँका जनताप्रति विश्वासघात गरेको ठहर हुनेछ ।’

सांसद धामीले थपे– ‘प्रधानमन्त्री देउवाजीका ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् रे । तर सुदूर पश्चिमका जनताले ३१ वर्षदेखि अनवरत रुपमा ६ पटक चुनाव जिताएर उहाँलाई ५ पटक नेपालको प्रधानमन्त्री बनाइसकेका छन् । ५ पटक प्रधानमन्त्री हुँदा तपाईले सुदूर पश्चिमका जनतामा दुरगामी प्रभाव हुने युगान्तकारी, अविस्मरणीय काम के–के गर्नुभयो ? शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा सुदूर पश्चिमका लागि तपाईले गरेका चिरस्थायी काम के के हुन् ? सुदूर पश्चिमका जनता जान्न चाहन्छन् कुनै जवाफ छ ? थारो भैसी पालेझैँ ३१ वर्षदेखि तपाईलाई भोट दिएर जनताले बालुवामा पानी हालेका हुन् ?’

उनले चितवनको रामपुरमा कृषि विश्वविद्यालय बनाउन कुनै तागतले नरोकेको तर सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालय बनाउनका लागि मन्त्रिपरिषदबाट निर्णय गराउन प्रधानमन्त्री देउवाको हात कसले बाँधेको छ भन्दै प्रश्न गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्