अवैध लागूऔषध सहित पक्राउ

कैलाली, गोदावरी नगरपालिका–५ गेटाबाट १४ ग्राम ९२७ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २१ वर्षीय नबिन सिंह मडै र सोही नगरपालिका–१२ बस्ने २८ वर्षीय जिवन खत्री रहेका छन् । उनीहरुले सुदूर पश्चिम प्रदेश ०१–११ प.३७४७ नम्बरको मोटरसाईकलमा लागूऔषध ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनी ३ वटा पोका बनाई राखेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

बाँके, नरैनापुर गाउँपालिका–६ दोन्द्रा बस्ने ५० वर्षीया अनिता मौर्या सहित २ जनालाई करिब १ सय ८५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका–६ चौबिस बिगाह र दोन्द्रामा रहेका घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले अनिता मौर्या सहित ४ जनाको घर तलासी गर्दा गहुँको भुसभित्र लुकाई राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, विराटनगर महानगरपालिका–१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट ५ ग्राम ७ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय नारायण महत्तो समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका महत्तोलाई प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारेपछि उनी समेत दुवै जनालाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट करिब १ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–५ प्रस्याङ बस्ने गोरखा भिमसेन गाउँपालिका–१ घर भएका २१ वर्षीय सुजन परियारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख २९५९ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार सुजनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्