संसदमा गाँजासम्बन्धि विधेयक अघि बढाउन सांसद तामाङको माग

काठमाडौँ – नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजासम्बन्धि विधेयक अघि बढाउँन माग गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विधेयक दर्ता गरेको ८ सय ९६ दिन भइसकेको भन्दै सो विधेयक अघि बढाउन माग गरे ।

संसदमा सांसदले उठाएको विषयहरुमध्ये ८ प्रतिशतमात्र कार्यान्वयन हुने गरेको बताउँदै उनले संसदले गर्नुपर्ने काम पनि नभएको गुनासो गरे । संसदमा जति मात्रामा मन्त्रीले विधेयक ल्याउन पाउँछ त्यति नै मात्रामा सांसदले पनि गैर सरकारी विधेयक दर्ता गर्न पाउने अधिकार रहने स्मरण गराए । आफूले दर्ता गरेको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ साल फागुन १९ गते क्रम संख्या ४ मा दर्ता गरेको बताए । विधेयक दर्ता भएको ४ दिनभित्र सबै सांसदहरुलाई वितरण गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले विरोधका सूचना दर्ता गर्न पाउने, ७ दिन कटेपछि संसदमा छलफलका लागि ल्याउनुपर्ने व्यवस्था रहेको स्मरण गराए ।

प्रतिनिधिसभा नियमावलीमा रहेको व्यवस्थाहरुको स्मरण गराउँदै उनले आफूले पाउने अधिकार समेत कार्यान्वयन नभएकोमा सभामुखसँग गुनासो गरे । उनले नेपालीहरु बेरोजगार भएका कारण विदेशबाट बाकसमा आउनुपर्ने अवस्था रहेको, ४५ डिग्रीको तातोमा काम गर्न बाध्य भएको, देशका ठूलो जनशक्ति अरु देशको समृद्धिका लागि काम गरिरहेको बताए ।

उनले भने–‘यस्तो अवस्थाले धेरैको मन पोल्छ । नेपालमै गाँजा खेतीबाट केही गर्न, नेपाली युवाहरुलाई पैसा खोज्न विदेश जाने हैन, नेपालमै पैसा कमाउन सकिन्छ भन्ने बनाउनका लागि यो विधेयक संसदमा दर्ता भएको हो । मैले गाँजा नै सबै समृद्धि भनेको छैन, समृद्धिको प्रस्थानविन्दु त हुन सक्छ । देश कहिलेसम्म अभावमा बाँच्ने हो, कहिलेसम्म ऋण लिएर बाँच्ने हो ? हामीसँग भएको संभावनाको खोजी किन नगर्ने ?’

उनले गाँजा लागू औषध नभएको भन्दै नेपालले पनि २०७६ सालमा संयुक्त राष्ट्रसंघको सि एण्ड डिमा गाँजाको पक्षमा भोट हालेको र अब गाँजा हानिकारक लागू औषध नभई औषधीय गुण भएको वनस्पतिको रुपमा रहेको बताए । उनले आफूले दर्ता गरेको सो विधेयक कहिले अगाडि बढ्छ, कहिले पास हुन्छ भनेर प्रतिनिधिसभाका सांसदहरुले सोध्ने गरेको बताउँदै सांसदहरु पनि गाँजा फुकुवा गर्नुपर्ने पक्षमा रहेको बताए । उनले सो विधेयकलाई छिटो अगाडि बढाउन माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्