सुदूरपश्चिमका ९ मध्ये ८ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

डोटी- सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ ।

नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन् । जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएका हुन् ।

यसैगरी जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भएका छन् भने उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का खगराज भुसाल विजयी भएका छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भएकी हुन् ।

जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगर निर्विरोध निर्वाचित भएकी हुन् ।

बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका छन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भएका छन् । दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलहरुका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् ।

यस्तै जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन्छ भने उपप्रमुखमा पनि कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छिन् ।

जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनका उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । समन्वय समिति प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्