केही सञ्चार माध्यममा आफुबारे प्रकाशित समाचार झुट : मिश्र

काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले आज केही सञ्चार माध्यममा आफुबारे प्रकाशित समाचार झुट भएको बताएका छन् । उनले एक पक्षिय रुपमा समाचार प्रकाशन नगर्न पनि मिडियाहरुलाई आग्रह गरेका छन् । बुधबार प्रेस वक्तव्य जारी गर्दै मिश्रले भनेका छन्, ‘आज केही सञ्चार माध्यममा मबारे प्रकाशित समाचार झुट हुन्। देशलाई शीरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ। देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पुरै खाली छ।
जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ–राजनीतिकरूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक–सामाजिकरूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ। नेपालमा अहिले त्यस्तो पार्टी छैन।
त्यसैले, समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भूमरीबाट जोगाउन ‘राष्ट्रियता’को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि म पहिलेदेखि नै एकीकरण/ध्रुवीकरणको पक्षमा भएको मैले लुकाएको छैन।
म एक्लै कतै जोडिएर त्यो संभव छैन तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन/एकीकरण/ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ। अनुमान र एक पक्षीय रूपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगरिदिन विनम्र अनुरोध गर्दछु।’

आज विभिन्न संचारमाध्यममा रविन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै शीर्षकमा समार प्रकाशित भएपछि मिश्रले स्पष्टिकरण दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्