आइपिएल : राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकाल्दै नवप्रवेशी गुजराज टाइटन्स फाइनलमा

काठमाडौँ – राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकाल्दै नवप्रवेशी गुजराज टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा पुगेको छ। मंगलबार राति पहिलो क्वालिफायरमा राजस्थान रोयल्समाथि ७ विकेटको रोमाञ्चक जित निकालेको गुजरातले पहिलो सिजनमै फाइनलमा स्थान पक्का गरेको हो ।

१ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। गुजरातको जितमा डेविड मिलर ३८ बलमा ३ चौका र ५ छक्कासहित ६८ रनमा अविजित रहे । गुजरातलाई अन्तिम १२ बलमा जितको लागि २३ रन चाहिएको थियो। १९ औं ओभरमा राजस्थानका ओबेद म्याकोयले ७ रन मात्र खर्चिए । अन्तिम ६ बलमा गुजरातलाई फाइनलमा पुग्न १६ रन चाहिएको थियो।

तीव्र गतिका बलर प्रसिद्ध कृष्णलाई अन्तिम ओभरको पहिलो बल डेविड मिलरले लङअन र दोस्रो बलमा डीप स्क्वायर लेगमा लगातार दुई छक्का प्रहार गरेपछि गुजरात जित नजिक पुगेको थियो। तेस्रो बलमा मिलरले छक्का प्रहार गर्दै टोलीलाई उपाधि नजिक पुर्‍याए।

गुजरातका लागि कप्तान हार्दिक पान्ड्या ४० रनमा अविजित रहे। चौथो विकेटका लागि हार्दिक र मिलरले १ सय ६ रनको अविजित शतकीय साझेदारी गरेका थिए। यसअघि ओपनर ऋद्धिमान शाह शून्यमा आउट भए पनि गुजरातले लय समातेको थियो। दोस्रो विकेटका लागि शुभमन गिल र म्याथ्यु वेडले ७२ रनको साझेदारी गरेका थिए। गिल र वेडले दुबै समान ३५-३५ रनमा आउट भए। राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो। उसका लागि ओपनर जस बटलरले सर्वाधिक ८९ रन बनाए।

ओपनर यशस्वी जैसवाल दुई रनमा आउट भए पनि दोस्रो विकेटका लागि बटलर र सन्जु स्यासमनले ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। स्यामसनले ४७ रन जोडे। यस्तै देवदत्त पाडिक्कलले २८ रन जोडे। रियान पराग र शिम्रन हेटमायर ४–४ रनमा आउट भए । गुजरातका लागि मोहम्मद शामी, यश दयाल, हार्दिक पान्ड्या र साई किशोरले समान १–१ विकेट लिए।

यो पराजयसँगै राजस्थानले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नु पर्नेछ। एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच आज खेल हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्