निजी क्षेत्रलाई पेट्रोलियम पदार्थकाे आपूर्ति गर्न अनुमति दिनुपर्छ : मन्त्री बडू

फाइल फोटो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताएका छन् ।

आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डौमा आयोजना गरेको ’विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवम् समाधानका उपाय’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसँग पनि मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा इन्धन पाउन सक्ने उनले बताए ।

मन्त्री बडूले भने, ‘पेट्रोलियम पदार्थको आपूर्तिमा निजी क्षेत्रको सहभागिता कसरी गराउन सकिन्छ भनेर सोचिराखेका छौँ । यसले इन्धनको मूल्यमा प्रतिस्पर्धा हुन्छ र यसले फाइदा हुने त उपभोक्तालाई नै हो ।’

मन्त्री बडूले निष्क्रिय अवस्थामा रहेका उद्योगहरूलाई पनि निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य गरिएको बताए । उद्योग सञ्चालन गर्दा उत्पादन र रोजगारी बढ्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले भाडामा सञ्चालन गर्न चाहेमा दिने गरी मोडालिटी तयार गर्न लागेको बताए । उनले आयात घटाउनु र राष्ट्रिय उत्पादन बढाउनु अहिलेको आवश्यकता भएको बताए । आत्मनिर्भरताका लागि मेहनत गर्नुपर्ने मन्त्री बडूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्