उदयपुरमा मतपेटिका लुट्ने प्रयासपछि गोली चल्यो, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

उदयपुर – उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय १८ वर्षिय विरबहादुर कटुवाल रहेका छन् । उनको छातिमा गोली लागेको छ । प्रहरीले चलाएको गोली लागेर अर्का स्थानीय १३ वर्षीय मोहन श्रेष्ठ घाईते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । बाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । घाईतेलाई उपचारका लागि कटारी ल्याईदैछ ।

प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले गोली चलेको बताएपनि घटनास्थल भौगोलिक विकट क्षेत्रमा रहेकाले मृत्यु पुष्टि भईनसकेको बताए । मृतक कटुवाल नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकोतर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् । विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले भने आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि ज्यान गएको बताएका छन् ।

उनले कांग्रेस कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्नेक्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाएको बताए । प्रजिअ यादवले मदतान प्रकृया ५ः२० मा सकिसकेपछि दलका कार्यकर्ताबीच विवाद सृजना भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए ।

प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ । कटारी–१० मा वडाध्यक्षका लागि नेकपा एमालेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकीकृत समाजवादीबाट लेटनारायण श्रेष्ठ र स्वतन्त्रबाट गौरबहादुर कटुवाल उम्मेदवार रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्