आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौँ – उम्मेदवारी फिर्ता लिन चाहनेहरूले लिन सक्ने निर्वाचन आयोगले बताएको छ ।

वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारबाहेक पार्टीकै कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता लिन अपिल गरेका छन् । उनले निर्वाचन आयोगले दिएको समयभित्रै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि सत्तागठबन्धनले चुनावी तालमेल गरेको विरोधमा कांग्रेस कार्यकर्ताले चितवनलगायत ठाउँमा बागी उम्मेदवारी दिएका छन् ।

देउवाले गठबन्धन गरिएका स्थानीय तह वा कांग्रेसले एकल उम्मेदवारी दिएका स्थानीय तहमा बागी उम्मेदवारी दिएकालाई फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउनसमेत आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्