कञ्चनपुरकी रञ्चुला साउँद मृत्यु प्रकरण : बोक्सी लागेको भन्दै बन्दी बनाएर कुटपिट

महेन्द्रनगर – दुई छोरीको साथमा बस्थिन्, बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँद । जेठी छोरी सरिता १८ वर्षकी भइन् । कान्छी निरा १२ वर्षमा उक्लिन् । उनीहरुले अब आमा रञ्चुलाको साथ कहिल्यै नपाउने भएका छन् । बुवाले कलिलैमा छाडेर गएपछि आमाको माया र अभिभावकत्वमा हुर्किरहेका दुई छोरीको सहारा खोसिएको छ । रञ्चुला गाउँमै प्रधानमन्त्री स्वरोजगारमार्फत निर्माण भइरहेको बछेला पदमार्गमा काम गरेर दैनिक छाक टारिरहेकी थिइन ।

गत चैत २८ गते एक्कासी उनको टाउको दुख्यो । उनी छिमेकमै रहेकी झारफुक गर्ने कमला साउँदको घरमा पुगिन । त्यहाँ अन्य दुई जना धामी, झाक्री पहिल्यै थिए । भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट र वडा नं.–१ बाराकुण्डाका नारायणदत्त भट्टले रञ्चुलालाई ‘थारुको भूत’ लागेको भन्दै झारफुक गर्नुपर्ने सुझाव दिए ।त्यहाँबाट सुरु हुन्छ, रञ्चुलामाथि उनीहरुको अत्याचार ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि.‘आमाको सामान्य टाउको दुखेको थियो, दिनमा काम गरेर फर्केपछि साँझ छिमेकी कमला आन्टिको घरमा झारफुक गर्न जानु भएको थियो,’ रञ्चुलाकी छोरी सरिताले भनिन्, ‘त्यो दिन सामान्य झारफुक गराएर फर्किनु भयो, टाउको दुखाइँ राम्रो नभएपछि फेरी अर्को दिन जानुभयो, धामीहरुले हाम्रोबारे नराम्रो बोलेकाले हामीले नै झन बिरामी गराएका हौं भन्नुभयो ।’

त्यो दिनबाट उनीहरुले आमालाई बन्धक बनाएर राखेको सरिताले बताइन् । ‘दैनिक ७ पटक मन्त्र पढ्नुपर्छ भनेर उनीहरुले आमालाई त्यही राखे, ३० गतेबाट हामीहरुलाई भेट्न समेत दिएनन्,’ उनले भनिन्, ‘उनीहरुले भूत भगाउने भन्दै आमालाई फलामका रडहरुले हान्ने गरेका थिए ।’

धामी, झाक्रीको कुटपिटबाट रञ्चुलाको बैशाख १ गतेनै मृत्यु भएको स्थानीय बताउँछन् । ‘उहाँको बैशाख १ गते दिउसो मृत्यु भएको रहेछ,’ स्थानीय सुरेन्द्र साउँदले भने, ‘त्यो घरमा हामीहरु कसैलाई जान दिएको थिएन्, उनका छोरीहरुलाई कसैलाई नभन्नु भनेका रहेछन्, आज शव गन्हाएपछि मात्रै छिमेकीहरुले थाहाँ पाएका हुन् ।’

यसरी पुग्यो प्रहरीसम्म खबर

शनिबार (आज) बिहान मृतकका आफन्त घटना भएको घरमा पुगे । त्यहाँ धामीझाक्रीको समूहले उनीहरुलाई प्रवेश गर्नै दिएनन् । त्यसपछि उनीहरु वडा सदस्य धनसिंह पुजाराको घरमा पुगे । घटनाबारे उनलाई जानकारी गराए ।

त्यसपछि वडा सदस्यसहित उनीहरु घटनास्थल कमलाको घरमा पुगे । तर, धामी,झाक्रीको समूहले वडा सदस्यलगायतलाई पनि त्यहाँ जान दिएनन् । वडा सदस्यले त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरी त्यहाँ पुग्यो ।

घटना स्थल शिल गदै आवश्यक अनुसन्धान ग–यो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

‘अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भने, ‘सामान्य सोधपुछ गरेका छौं, उनीहरुले कुटपिट नगरेको भनेका छन्, राति थप सोधपुछ गछौं ।’

मृतकको शरीरको छाला निस्केको उनले बताए । ‘घटना संकास्पद छ, कुटपिट गरेको हुनसक्ने सम्भावना छ,’ उनले भने, ‘शव परीक्षणको रिर्पोट आएपछि धेरै कुरा खुल्न सक्छ ।’

सिमारेखा अनलाइनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्