‘तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो’ : कमल थापा

FILE PHOTO

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना दिँदै थापाले आफूले विभिन्न कारणले राजाको एजेन्डा छोडेको बताएका हुन् ।

नले पार्टीहरू असफल हुँदैमा राजा नआउने बताएका छन् । एउटा पार्टी असफल भए अर्को आउने उल्लेख गर्दै थापाले भनेका छन्, ‘पार्टीहरू असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ ।’

त्यस्तै राजतन्त्र फर्कने विभिन्न कारण रहे पनि अहिले ती सबै बाटाहरू बन्द भएको उनले बताएका छन् । ‘राजा फर्कने अरु नै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए ।अब असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन।असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन । २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन,’ थापाको भनाइ छ ।

एमालेसँगको चुनावी तालमेलबारे अहिले आफूले गाली खाइरहे पनि आफू बलियो घर बनाउने अभियानमा रहेको थापाको भनाइ छ । ‘मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ।अहिले गालीगलौज र आरोपहरु खेपेर भए पनि तपाईंहरुका लागि म बलियो घर बनाएर राखिदिनेछु।पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस्,’ थापाले भनेका छन् ।

आगामी स्थानीय तहको चुनावमा थापा नेतृत्वको राप्रपा नेपालले सूर्य चिह्नमा उठ्ने गरी नेकपा एमालेसँग तालमेलको सहमति गरिसकेको छ ।राप्रपा नेपाल र परिवार दलले एमालेसँग तालमेल गरी स्थानीय तह चुनावमा उत्रने सहमति गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्