ब्याडमिन्टन खेलाडी प्रिन्सलाई वरीयता जोगाइ राख्न चुनौती

काठमाडौँ – बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी अर्थात् प्रिन्स दाहाल अहिले विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा छन् । नेपाली ब्याडमिन्टन खेलाडीले पाएको यो उपलब्धि इतिहासकै गौरव गर्न लायक क्षण हो । शीर्ष वरीयतामा पुग्दासम्म प्रिन्सको मिहिनेत त छ नै, साथै पारिवारिक वातावरण पनि ब्याडमिन्टनमय छ ।

प्रिन्सका बुवा नारायण दाहाल दार्चुलामा हुने जिल्लास्तरीयदेखि धेरै प्रतियोगितामा सहभागिता जनाए । केहीमा सफलता मिल्यो, केहीमा मिलेन । तर नारायणको खेलले उनका छोरा प्रिन्सलाई ब्याडमिन्टनमा चुम्बकझैँ तान्यो ।

प्रिन्स भन्छन्, ‘मैले विद्यालयमा फुटबल पनि खेले । तर बुवाले धेरै ब्याडमिन्टन खेल्ने भएर मलाई पनि त्यसैमा रुचि भयो । बुवासँगै पछि लागेर खेल्न जान्थे । बुवाले खेल्न छाडी सक्नु भयो । अहिले मैले उहाँको सपना साकार पारेको जस्तो महसुस हुन्छ ।’

विश्व वरीयताको जुनियरतर्फको शीर्ष स्थानमा रहेका उनलाई अहिलेको सबैभन्दा ठूलो चुनौती आफ्नो वरीयता टिकाइ राख्नु हो । विश्व ब्याडमिन्टन फेडरेशनको नयाँ वरीयता पनि सार्वजनिक हुने समय भएको छ । त्यसअघि प्रिन्सले अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् ।

त्यसो त राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि प्रिन्सले एकै महिनामा लगातार दुई पटक जितेका छन् । ज्येष्ठ ब्याडमिन्टनको उपाधि जितेका प्रिन्सले एक साताको फरकमा प्रधानमन्त्री कप राष्ट्रिय ब्याडमिन्टनको उपाधि जित्न सफल भए । तर घरेलु प्रतियोगिताले प्रिन्सको वरीयतालाई सुधार गर्दैन । उनले यो वरीयतालाई कायम राख्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने हुन्छ ।

१८ वर्षीय प्रिन्सलाई जुनियर वरीयतामा टिक्न अब एक वर्षको समय मात्र बाँकी छ । १९ वर्षको उमेरसम्म मात्र जुनियर वरीयतामा खेलाडीलाई राखिन्छ । प्रिन्सले रातोपाटीसँग भने, ‘अब आउने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै वरीयतालाई होल्ड गर्ने मेरो योजना छ ।’

प्रिन्स अगाडि भन्छन्, ‘राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा जति सफलता मिल्दै गएको छ । त्यो अनुसारको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पनि पाउने योजना छ । त्यसको लागि तयारी पनि गरेको छु । हेरौँ सफलता कति मिल्छ ।’

प्रिन्सको अबको मुख्य लक्ष्य नै अन्तर्राष्ट्रिय स्तरमा नेपालाई पदक जिताउनु हो । प्रिन्सको अर्को सपना हो ओलम्पिकमा देशका लागि पदक दिलाउने । उनी अहिलेदेखि नै त्यसको तयारीमा छन् ।

‘ओलम्पिकमा देशका लागि पदक जिताउनु मेरो सपना हो । अहिले नै ओलम्पिकमा छनोट भएर पदक जिताउन सहज छैन । तर, मेहनत गर्दा असम्भव भन्ने केही छैन । त्यसका लागि धेरै तयारीको आवश्यकता छ,’ प्रिन्स भन्छन् ।

अन्तर्राष्ट्रिय स्तरमा सफलता पाउनेसँगै राष्ट्रिय स्तरको प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने उनको लक्ष्य हो । राष्ट्रिय वरीयतामा अहिले दीपेश धामी शीर्ष स्थानमा छन् । प्रिन्स र दीपेश पनि अहिलेका प्रायः राष्ट्रिय प्रतियोगिताका उपाधि दाबेदार छन् । यसै महिना सम्पन्न ज्येष्ठ ब्याडमिन्टनमा प्रिन्सले दीपेशलाई हराएका थिए । रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्