डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने जोशीको तयारी, भोली उम्मेदवारी घोषणा गर्ने

महेन्द्रनगर – बैतडीको डिलाशैनी गाउँपालिकामा सन्तोषप्रकाश जोशीको समूहले एमालेभित्र बिद्रोह गरेको छ । एमालेबाट बिद्रोह गरी उनले डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा २७ गते बृहत जनभेला तथा स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रम राखिएको छ । जोशी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चिम अध्यक्ष हुन् ।

जनभावना विपरीत एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको जोशीले बताए । ‘बिहीबार पंसेरामा आयोजित गाउँ कमिटी बैठकमा अधिकांस पदाधिकारी र सदस्यहरु मेरो पक्षमा थिए,’ उनले भने, ‘तर, पाल पक्षले माइन्यूट खोसेर कब्जामा लिए ।’

स्रोतका अनुसार पालले पछि आफू निकटलाई सुटुक्क सिफारिस गरेका छन् । पालिकाबासीकै सल्लाहमा स्वतन्त्र उम्मेदवारी दिन लागेको जोशीको भनाई छ ।

‘७ वटै वडामा अध्यक्षदेखि सदस्यसम्म स्वतन्त्र उम्मेदवार बनाउँछौं,’ उनले भने, ‘पालजीले जिउँदो रहेसम्म, आफूसँग कलम हुँदासम्म पालिका अध्यक्षमा मेरो नाम नलेख्ने भनेछन्, मेरो नाम डिलाशैनी गाउँवासीको मनमा छ, कुनै नेताले रोक्दैमा हामी रोकिदैनौं ।’

एमाले बैतडीका अध्यक्ष पालले गरेको ज्याजती प्रदेश कमिटी र केन्द्रीय अध्यक्षसम्मलाई जानकारी गराएको उनले बताए । ‘हिजो उनको समूहले गरेका क्रियाकलापबारे प्रदेश अध्यक्ष र केन्द्रीय अध्यक्षलाई जानकारी गराए, पालजीले उहाँहरुलाई पनि धम्की दिएछन्,’ उनले भने, ‘डिलाशैनीमा आफुले चाहेको मान्छेलाई उम्मेदवार बनाउँछु, कसैले रोक्न खोजे बैतडीका सबै पालिकामा आफ्ना व्यक्तिलाई सिफारिस गर्ने बताएका रहेछन् ।’

बिहीबार एमालेबाट डिलाशैनी गाउँपालिका अध्यक्षको उम्मेदवार छनौट गर्न पंसेरामा गाउँ कमिटीको बैठक थियो । बैठकमा सन्तोषप्रकाश जोशी, उकेन्द्र बोहरा, अक्कल राना र प्रेमराज भट्टले अध्यक्षमा दाबी गरेका थिए ।

बैठकमा सहभागी गाउँ कमिटीका नेता र कार्यकर्ताले जोशीलाई समर्थन जनाएपछि पालका सवारी चालक नवराज भट्टले माइन्यूट खोसेर गायब गरेका थिए । ‘डिलाशैनीमा उम्मेदवार छनौटबारे जानकारी छैन,’ एमाले बैतडीका अध्यक्ष पालले भने, ‘त्यहाँ के हुँदैछ मलाई थाहा छैन्, गाउँ कमिटी अध्यक्षलाई सोध्नुस ।’ सिमारेखाबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्