नेपाली काँग्रेसले भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने

चितवन – भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने अडान कार्यान्वयन गर्न नेपाली काँग्रेस चितवनले दबाब दिएको छ ।चुनावी तालमेलमा फेरि पनि नेकपा माओवादी केन्द्रको भागमा भरतपुर महानगरको प्रमुख नदिन जिल्लाका नेताहरू शीर्षनेतालाई भेटघाटका लागि काठमाडौँ पुगेका छन् । जिल्ला सभापति, केन्द्रीय सदस्यहरूसहितले बिहीबार सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत रहनुभएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफ्ना अडान राखेका छन् ।

स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा भरतपुर काँग्रेसले पाउनुपर्ने भन्दै कुनै पनि हालतमा छाड्न नसकिने जिल्ला पूर्वसभापति जितनारायण श्रेष्ठले बताउनुभयो । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको प्रमुख काँग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुरा सुनाएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

“नेता पौडेलले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभएको छ, चितवनको सन्दर्भमा धेरै जानकारी पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ,” श्रेष्ठले भन्नुभयो । केन्द्रीय नेताहरूलाई भेट्न चितवन काँग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति टेकप्रसाद गुरुङ, नेता दिनेश कोइरालालगायतका नेता काठमाडौँ जानुभएको हो । बिहीबार वरिष्ठ नेता पौडेल, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ, पूर्णबहादुर खड्कालगायतका नेतासँग भेटेर माग राखेका छन् । शुक्रबार पार्टी सभापतिलाई भेटेर कुरा राख्ने नेता श्रेष्ठले जानकारी दिनुभयो । “भरतपुर महानगरमा प्रमुख पद कुनै पनि हालतमा छाड्न सकिँदैन । गठबन्धनको हामी विरोधी होइन,” जिल्ला सभापति खनालले भन्नुभयो, “केन्द्रीय समितिकै निर्णय छ नि आवश्यकता र औचित्यका आधारमा निर्णय गर्ने भनेर । चितवनको आवश्यकता भनेकै भरतपुरको मेयर हो । गठबन्धन गर्दै गर्दा मेयर हामीलाई छोड्न प–यो भन्ने अन्तिम बटमलाइन हो । ”

जिल्लाका सातवटै पालिकामा सत्तागठबन्धनका दलहरूबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ । महानगर प्रमुख काँग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन काँग्रेस छ । नेकपा (माओवादी केन्द्र) पनि महानगर प्रमुख आफूले पाउनेगरी तालमेल गर्ने बताइरहेको छ । यसअगाडि २०७४ मा भएको निर्वाचनमा मनोनयन दर्ता गर्ने दिनमा प्रमुख पदबाट दिनेश कोइरालालाई काँग्रेसले नाम फिर्ता लिन लगाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्