थाइल्याण्डमाथि नेपालको सहज जित

काठमाडौं – एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।

थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल मल्लले अवजित ३६ र पवन सर्राफले अविजित २७ रन जोडे । पहिलो जितपछि नेपालले ३ खेलबाट २ अंक जोडेको छ ।

अब नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले शीर्ष दुईमा स्थान बनाउन अब सिंगापुर आजै हुने खेलमा हङकङसँग पराजित हुनुपर्नेछ भने अन्तिम दिन हङकङले मलेसियालाई पनि पराजित गर्नुपर्नेछ ।

थाइल्याण्डविरुद्ध नेपालले ओपनिङमा परिवर्तन गर्दै पारस खड्का र कुशल मल्ललाई ओपनिङ गराएको थियो । यसअघि कुशल र कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । तर पारस खड्का दोस्रो ओभरको तेस्रो बलमै व्यक्तिगत ९ रनमा आउट भए ।

त्यसपछि तेस्रो नम्बरमा ब्यटिङ गरेका पवन सर्राफले कुशललाई साथ दिए । पवनले सुरुवाती ३ बलमा रन जोड्न सकेनन् । त्यसपछि भने कुशल र पवनले विष्फोटक ब्याटिङ गरे । कुशलले तेस्रो ओभरमा लगातार ३ चौका र एक छक्का गरी १८ रन जोडेका थिए ।

यस्तै पवनले पाँचौं ओभरमा दुई छक्का र एक चौकासहित १६ रन जोडे ।

दोस्रो विकेटका लागि कुशल र पवनले अर्धशतकिय साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । कुशलले १८ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ३६ रन बनाए । यस्तै १० बल खेलेका पवनले २ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन जोडे ।

त्यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धा्रित २० ओभरमा १० विकेट गुमाएर ६६ रन बनाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्