प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एक घण्टा छलफल, के भयो कुराकानी ?

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच करिब एक घण्टा छलफल भएको छ । शनिबार बिहान भक्तपुर बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पनि दुवैबीच के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आइनसकेको जानकारी दिए । एक्लाएक्लै वार्ता भएकाले के कुराकानी भयो भन्ने विषयमा जानकारी नभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव देउवाले जानकारी दिए ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्री र अध्यक्षबीच करिब एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको तर विषयबारे थाहा नभएको बताए ।

एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुगेका थिए ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म बैठकमा अवरोध गर्ने बताएका छन् । एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा उपस्थित नहुने एमालेको अडान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्