पशुपतिनाथमा धनुर्मास पूजा, भोलि बिहानदेखि नियमित पूजाआराधना

काठमाण्डौ – सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभरि सूर्य धनु राशिमा हुन्छन् । हरेक वर्ष पुसमा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ ।

यही विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । भरे बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ । भोलि बिहानदेखि भने नियमित पूजा आराधना गरिन्छ ।

उज्यालो अनलाईनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्