दोस्रो चरणको चुनाव भएमा देउवा विरुद्ध मोर्चाबन्दी गर्ने निधिको खुलासा

काठमाडौँ – नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका छन् । आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन । त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ । त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुन्छौं ।’

काँग्रेस सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङसँगै निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरे ।

पछिल्लो समय देउवा र निधिबीच सम्बन्ध चिसिएको छ । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि देउवाले उनीप्रति कुनै चासो देखाएका छैनन् । बरु कृष्णप्रसाद सिटौलासँग तालमेल गरेका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले पदाधिकारीहरुको पूर्ण प्यानल बनाउन नसकेपछि उनी पहिलो चरणबाट नै आउट हुने सम्भावना बढेको छ । पहिलो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने र सिंहसँगै निधि पनि आउट हुने विश्लेषण गरिँदै आएका बेला निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाउने ठोकुवा गरेका छन् ।

नेपाली काँग्रेसको विधानअनुसार सभापतिको उम्मेदवारले जित हात पार्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कसैले पनि ५० प्रतिशत मत नल्याए दोस्रो चरणमा पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच पुनः मतदान गर्ने विधानमा व्यवस्था छ । अघिल्लो १३औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदा देउवाले ५० प्रतिशत मत कटाएका थिए । दोस्रो चरणमा सिटौला आउट भएका थिए भने देउवा र पौडेलबीच पुनः मतदान भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्